‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

हेटौँडा । मकवानपुर क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ।

सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिबद्धता–पत्रमा भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै स्थिर सरकार निर्माणको आह्वान गरिएको छ। गौतमले सुशासन र पारदर्शितामै विकासको आधार रहेको उल्लेख गर्दै मतदातासमक्ष स्पष्ट योजनासहित प्रस्तुत भएका छन्।

प्रतिबद्धता–पत्रमा ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै हेटौंडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने प्रयास, कर्रा, राप्ती र बागमती नदी करिडोर निर्माण तथा ग्रामीण सडकलाई बार्है महिना सञ्चालनयोग्य बनाउने योजना अघि सारिएको छ।

राजमार्ग ऐन अन्तर्गत नगर विस्तारका क्रममा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गरिने जनाइएको छ। प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट सेवा विस्तार तथा एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

गौतमले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन्। डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण र जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

कृषि क्षेत्रमा गढी, बकैया, बागमती र हेटौंडाका विभिन्न क्षेत्रमा व्यावसायिक कृषि जोन विकास, सिँचाइ सुविधा विस्तार र पशुपालन प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। औद्योगिक विकासका लागि हेटौंडा औद्योगिक क्षेत्र विस्तार, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन तथा युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास गर्ने योजना अघि सारिएको छ।

पर्यटन प्रवद्र्धनअन्तर्गत ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन, होमस्टे विकास र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

शिक्षातर्फ गुणस्तरीय सामुदायिक विद्यालय सुदृढीकरण, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना र विपन्न वर्गका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य क्षेत्रमा गाउँपालिका स्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम र हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारमा जोड दिइने उल्लेख छ।

सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्ने योजना समेटिएको छ। सामाजिक सुरक्षा कोष वृद्धि, ‘एक वडा–एक महिला उद्यम’ कार्यक्रम र शिशु स्याहार केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि गरिएको छ।

वातावरण संरक्षणतर्फ बागमती, बकैया तथा मकवानपुरगढी क्षेत्रमा बाढी–पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। वन, नदी तथा प्राकृतिक स्रोत संरक्षणसँगै लालपुर्जा वितरण समस्याको समाधानमा उच्च प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

मकवानपुर क्षेत्र नं. १ मा यस पटक १३ राजनीतिक दलका उम्मेदवार र १० स्वतन्त्र उम्मेदवार गरी कुल २३ जनाले उम्मेदवारी दिएका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.