हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए २०४६ सालपछिका सबै प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले फागुन २१ पछि बन्ने सम्भावित रास्वपा सरकार भ्रष्टाचारका सबै फाइल खोल्न प्रतिबद्ध रहने स्पष्ट पारे। उनले देशभरका उम्मेदवारहरूलाई जिताउन मतदातासँग आग्रह गर्दै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रित गरे।

‘देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्न रास्वपाको सरकार बन्न जरुरी छ,’ उनले भने, ‘फागुन २१ केवल मतदानको दिन होइन, देशको भविष्य तय गर्ने दिन हो। तपाईंहरूको निर्णयले नै भोलिको दिशा निर्धारण गर्छ।’

लामिछानेले रास्वपा प्रतिशोधको राजनीति नगर्ने तर कानुनी राज्य स्थापनामा दृढ रहने दाबी गरे। जेन–जी आन्दोलनका क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जलेको भनिएको पैसाको प्रसंग उल्लेख गर्दै उनले त्यसको स्रोतबारे गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।

‘त्यो पैसा जलेको विषय एआईले बनाएको कथा होइन, वास्तविक घटना हो,’ उनले भने, ‘त्यसको स्रोत के हो भन्ने खोज्न अनुसन्धान अनिवार्य छ। सरकार बन्न दिनुहोस्, हामी निष्पक्ष रूपमा छानबिन गर्छौं।’

उनले २०४६ सालपछि भएका सबै काण्डहरूको छानबिन गरिने मात्र नभई विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे।

निर्वाचन मिति सार्ने सम्भावित चर्चाप्रति प्रतिक्रिया दिँदै लामिछानेले कुनै पनि बहानामा चुनाव रोक्न नहुने बताए। लोकतन्त्रमा जनमत सर्वोपरि हुने उल्लेख गर्दै उनले मतपरिणाम जस्तो आए पनि स्वीकार गर्ने प्रतिबद्धता जनाए।

‘जनता मत हाल्न तयार छन्। कसैले पनि निहुँ खोजेर चुनाव रोक्ने काम गर्नु हुँदैन,’ उनले भने, ‘हामीलाई जनता पहिलो नम्बर बनाउँछन् भने स्वीकार्छौँ, जिरो नम्बर बनाउँछन् भने पनि स्वीकार्छौँ। जनताको निर्णय नै अन्तिम हुन्छ।’

रास्वपाले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र कानुनी शासनलाई संस्थागत गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै लामिछानेले मतदातालाई ‘सही निर्णय’ गर्न आह्वान गरेका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.