मन्त्रीमण्डलमाथि ‘रास्वपा कब्जा’को आरोप

हेटौँडा — नेत्रबिक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको मन्त्रीमण्डलमाथि गम्भीर आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावमा सरकार चलेको दाबी गर्नुभएको छ।

हेटौँडामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेत्रबिक्रम चन्द ले मन्त्रीमण्डलमा एनजिओ पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य रहेको र ती व्यक्तिहरू रास्वपाको हित अनुकूल क्रियाशील रहेको आरोप लगाउनुभयो। आफ्नै अनुकूल नियम–कानुन निर्माण गरी मन्त्री पदबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्ने वातावरण बनाइएको उहाँको टिप्पणी थियो।

उहाँले हालका मन्त्रीहरू निष्पक्ष नभएको र आगामी चुनावमा रास्वपालाई सहयोग गर्ने उद्देश्यले सक्रिय रहेको दाबी गर्नुभयो। वर्तमान सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन नसक्ने जिकिर गर्दै उहाँले चुनाव गराउने वैधानिक आधार र अधिकारसमेत सरकारसँग नरहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री सुशीला कार्की संविधानको कुन धाराअनुसार र कसको स्वीकृतिमा नियुक्त भएको भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो।

विदेशी शक्तिहरूले नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न खोजिरहेको आरोप लगाउँदै विप्लवले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न संघर्ष आवश्यक रहेको बताए। राजधानीमा ठूला षड्यन्त्रमार्फत चुनाव प्रभावित पार्ने खेल भइरहेको उहाँको भनाइ थियो।

उहाँले आफ्नो पार्टी चुनावी मोर्चाबाट नहट्ने स्पष्ट पार्दै गणतन्त्र स्थापना भएको १८ वर्षपछि पनि जनताको अपेक्षा पूरा नभएको उल्लेख गर्नुभयो। फागुन २१ गते हुने भनिएको चुनाव जेनजी आन्दोलनको मर्मअनुकूल नरहेको बताउँदै राज्य पुनर्संरचना, संविधान संशोधन, भ्रष्टाचार अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित हुने गरी निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो।

राष्ट्रिय स्वाधीनता र भ्रष्टाचारविरुद्ध सडक संघर्षमा आफ्नो पार्टी बाहेक अन्य दल सक्रिय नरहेको दाबी गर्दै उहाँले जनताप्रति समर्पित शक्तिहरूलाई आगामी चुनावमा समर्थन गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महेश नेपाली आरोह र क्षेत्र नं. २ का उम्मेदवार राम घलान वाटर लगायतको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.