बागमती प्रदेश: साना किसानका लागि प्रत्यक्ष लाभ हुने योजना ल्याइने

भीमफेदी ।  बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने घोषणा गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित ‘किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला’लाई सम्बोधन गर्दै उनले साना किसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा साना किसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए। “एउटा गाई पालेका किसानलाई थप दुई वटा गाई किनिदिने र एउटा भैंसी पाल्नेलाई अर्को भैंसी थपिदिने गरी हामीले कार्यक्रम ल्याउन खोजेका छौँ,” मन्त्री पौडेलले भने, “निर्वाहमुखी खेती गरिरहेका साना किसानलाई व्यावसायिकतातर्फ डोर्‍याउनु नै हाम्रो मुख्य लक्ष्य हो।”

प्रदेश सरकारले किसानको वर्गीकरण नहुँदा वास्तविक अनुदान वितरणमा समस्या भोगिरहेको स्वीकार गर्दै मन्त्री पौडेलले छिट्टै वर्गीकरण प्रक्रिया टुङ्ग्याउने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न बागमती प्रदेश सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए।  ‘डिप्लोमा’ सम्म अध्ययन  गरेका युवाहरू व्यावसायिक कृषिमा लागेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म प्रोत्साहन अनुदान दिइरहेको जानकारी गराउँदै उनले युवाहरूलाई स्वदेशमै उद्यमी बन्न आह्वान गरे ।

“नयाँ पुस्ताको आकर्षण विदेश मात्र हुनु दुःखद हो। कृषि प्राविधिक शिक्षा पढेर व्यावसायिक कर्ममा लाग्ने युवालाई सरकारले ठुलो राशिको अनुदानमार्फत सहयोग गरिरहेको छ,” मन्त्री पौडेलले थपे ।

महासंघका प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साना किसानका समस्या, कृषि प्रविधिमा पहुँच र आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा विशेष अतिथिका रुपमा राष्ट्रिय कृषक समूह महासङ् नेपालका अध्यक्ष पन्चकाजी श्रेष्ठ , अतिथि भिमफेदी गाउँपालिकाका ५ नम्बर वडाका वडाध्यक्ष जाहार सिंह लामा लगायत को भनेर सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.