हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको नव–निर्मित भवनमा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर १ र आचार्यलाई निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएको छ ।
प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेका छन् ।
मतदाता विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ तथा अन्य ५ जना रहेका छन् ।





























