हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम नागरिक सेवामा खर्च गर्ने निर्णयअनुरूप पहिलो घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन्। गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो तलब तथा सुविधा विपन्न नागरिकको सेवामा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो।
उक्त निर्णयअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका तीन अति विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना अघि बढाएका थिए। तीमध्ये मनहरी गाउँपालिकाकी मिठ्ठुमाया तामाङको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो।
१४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षमा पहिलो सन्तान जन्म दिएकी थिइन्। तीन छोरा र एक छोरीकी आमा मिठ्ठुमायाका श्रीमान्को मृत्यु भएको सात वर्ष बितिसकेको छ। श्रीमान्को निधनपछि सन्तानको पालनपोषण र घरपरिवारको जिम्मेवारी एक्लै वहन गर्दै आएकी उनी नयाँ पक्की घरमा बस्न पाउँदा निकै भावुक र खुशी देखिइन्।
मुख्यमन्त्री बानियाँले घर निर्माणमा कुनै पनि सरकारी बजेट प्रयोग नभएको बताउँदै भने, “मानवताको सेवा नै मेरो राजनीतिको मर्म हो। नागरिकका दुःखमा साथ दिन पाउनु नै सबैभन्दा ठूलो सन्तोष हो।” उहाँका अनुसार, राज्यबाट प्राप्त हुने सुविधा तथा व्यक्तिगत रकम प्रयोग गरेर तीन विपन्न परिवारका लागि घर निर्माण कार्य सुरु गरिएको छ।
मिठ्ठुमायाको घर निर्माणका लागि मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सिफारिस गरेका थिए। अध्यक्ष कालाखेतीले पनि आफ्नो तलब तथा सुविधा वापत्को रकमबाट गाउँपालिकाभित्र विपन्न परिवारका लागि घर निर्माण गर्दै आएका छन्। उहाँले मुख्यमन्त्रीलाई सिफारिस गरेपछि मिठ्ठुमायाका लागि तीन कोठे पक्की घर, शौचालयसहितको संरचना निर्माण गरिएको बताउनुभयो।
घर हस्तान्तरण समारोहमा सहभागी बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले आफ्नो व्यक्तिगत खर्चबाट मिठ्ठुमायाको परिवारलाई भान्साका सामग्री र चामल सहयोग गर्नुभयो। मन्त्री रायमाझीले “राजनीति भनेको समाजसेवाको माध्यम हो” भन्दै निरन्तर यस्ता कार्यमा सहभागी रहँदै आएको बताउनुभयो।
मिठ्ठुमायाको घर बनाउन सरकारी लागत अनुमान ७ लाख रुपैयाँ भए पनि मुख्यमन्त्रीको पहल र स्थानीय श्रमदानका कारण ४ लाख ६५ हजार रुपैयाँमै घर निर्माण सम्पन्न भएको हो।
मुख्यमन्त्री बानियाँले बाँकी दुई घर — राक्सीराङ गाउँपालिका–१ का सुमनसिं चेपाङ र कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङका लागि निर्माण भइरहेको बताउँदै, “कात्तिक महिनाभित्र दुबै घर हस्तान्तरण गरिनेछ,” भन्नुभयो। यी घरहरूको लागि उहाँले गत भदौ १६ गते पहिलो किस्ताबापत दुई–दुई लाख रुपैयाँ निर्माण समितिलाई हस्तान्तरण गरिसक्नुभएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो।
























