हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले विद्यार्थीप्रति राखेको अभिव्यक्तिका कारण उत्पन्न विवादपछि सार्वजनिक माफी मागेकी छन्।
भदौ २३ गते Gen-Z आन्दोलनका क्रममा विद्यार्थीले गुनासो राख्न उपमहानगरपालिकामा पुग्दा नगरप्रमुख लामाले दिएको प्रतिक्रियापछि आलोचना चुलिएको थियो। सो घटनापछि आइतबार विज्ञप्ति जारी गर्दै उनले आफ्ना शब्द र शैलीका कारण विद्यार्थीको मन दुखेको रहेछ भने माफी चाहेको उल्लेख गरेकी छन्।
‘विद्यार्थी भाइबहिनीहरूको मन दुखाउने कुनै उद्देश्य मेरो थिएन। तर मेरो शब्द र शैलीका कारण चोट पुगेको रहेछ भने माफी चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।
लामाले विद्यार्थीहरूको पक्षमा सधैं खडा रहने प्रतिबद्धता जनाउँदै शैक्षिक, सामाजिक र सिर्जनात्मक अभियानमा निरन्तर साथ दिने आश्वासन दिएकी छन्। साथै, महिलाप्रति, जनजाति समुदायप्रति र विविधतालाई सम्मान गर्ने आफ्नो अडान दोहोर्याउँदै विगतका कमजोरी आत्मसात गरेर अघि बढ्ने प्रतिज्ञा गरेकी छन्।
उनले विद्यार्थीले उठाएका मुद्दा र मागलाई सम्बोधन गर्न संवेदनशीलतापूर्वक लाग्ने स्पष्ट पारेकी छन्।
यसअघि भदौ २४ गते नगरप्रमुख लामाको अभिव्यक्ति विभेदपूर्ण भएको भन्दै मधेसका विद्यार्थी आन्दोलित बनेका थिए। उनीहरूले उपमहानगरपालिकाको गेट अगाडि प्रदर्शन गर्दै लामासँग माफी माग्नुपर्ने माग राखेका थिए। सोही दिन प्रदर्शनकै क्रममा लामाको निवासमा समेत आगजनी गरिएको थियो।
































