हेटौंडा । मकवानपुर जिल्लामा फुलकन्ट्र्याक्ट कराते खेलको समुचित व्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरूको हकहित र समान अवसरको सुनिश्चितताका लागि “मकवानपुर जिल्ला फुलकन्ट्र्याक्ट कराते महासंघ” गठन गरिएको छ।
बालकुमारीस्थित मकवानपुर क्योकुशिन कराते संघ, IKO UNION का अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न संघ-संस्थाका प्रशिक्षक र खेलाडीहरूको उपस्थिति रहेको थियो। बागमती प्रदेश फुलकन्ट्र्याक्ट कराते महासंघको पत्र अनुसार गठित तदर्थ समितिका अध्यक्ष तथा प्रतिनिधि केशव देसार र मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोईरालाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भेलाले नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ। समितिमा लवाङ्ग दोर्जे लामा र चन्द्र कुमार गोले उपाध्यक्ष, एञ्जीला मोक्तान सचिव, सीता श्रेष्ठ कोषाध्यक्ष, तथा सुसन श्रेष्ठ, शशी प्रसाद विश्वकर्मा, अमित गोले र बसन्ती स्याङतान सदस्यको रूपमा चयन भएका छन्।
कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरूलाई सभाध्यक्ष न्यौपाने र अतिथि माधव कोईरालाले खादा र अबिर लगाएर शुभकामना दिएका थिए। भेलामा सहभागीहरूले आगामी दिनमा कराते खेलको समग्र विकासमा उक्त महासंघले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।






























