हेटौंडा । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा श्रम सल्लाहकार परिषद्को पहिलो बैठक तथा परिचयात्मक अन्तर्क्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। बैठकको अध्यक्षता श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरेका थिए।
बैठकमा बालश्रम निवारण रणनीतिक योजनाको मस्यौदा, पाँच वर्षे रणनीतिक योजना, र प्रदेश श्रम तथा रोजगार नीति लगायतका विषयमा गहन छलफल गरिएको थियो। साथै आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रलाई लक्षित गर्दै विनियोजन गरिएको बजेट तथा योजनाहरूको पनि समिक्षा गरिएको थियो।
मन्त्री महर्जनले आगामी वर्षमा यातायात क्षेत्रमा रोजगारी विस्तार, डिजिटल मार्केटिङ र आइटी तालिम, महिला चालकको प्रोत्साहन र सम्मान कार्यक्रम जस्ता पहलहरूको घोषणा गरे। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई समेत प्राथमिकता दिइने स्पष्ट पारे। मन्त्रीका अनुसार, परिषद्को भूमिका आगामी बजेट कार्यान्वयनमा महत्वपूर्ण रहनेछ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा परिषद् सदस्य कृष्ण प्रसाद मैनाली, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुसाल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृत अधिकारी, तथा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको उपस्थिति रहेको थियो।
त्यसैगरी परिषद्का सदस्यहरू रामहरी नेपाल, ऋतु भट्ट (राई), सुनिल मल्ल, सत्यमान लामा, गणेश भट्टराई, श्रम मन्त्रालयका महाशाखा प्रमुख तथा सदस्य सचिव सुनिता गजुरेल, विज्ञ सल्लाहकार तुलसी रिजाल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले प्रदेशको श्रम तथा रोजगार नीति निर्माण, कार्यान्वयन र समन्वयमा परिषद्को भूमिकालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।






























