हेटौंडा । उद्योग तथा वाणिज्य कार्यालय, बागमती प्रदेश सिटीइभिटी र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित विभिन्न तालिमहरू सोमबार सम्पन्न भएका छन्।
समापन कार्यक्रम बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
३० दिने विशेष तालिमहरू हेटौंडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा प्रदान गरिएको हो। उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमहरूमा एड्भान्स बुटिक सिलाइ, ढाका कपडा बुनाइ र औद्योगिक विद्युत् जडान समावेश थिए।

त्यस्तै, बागमती प्रदेश सिटीइभिटीको सहकार्यमा सूर्यमणि प्राविधिक शिक्षालयले सहायक ब्युटिसियन तालिम सञ्चालन गरेको थियो भने हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र र सूर्यमणि प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा बारिष्टा तालिम पनि प्रदान गरिएको थियो।
प्रत्येक तालिममा २०–२० जना प्रशिक्षार्थी सहभागी थिए। तालिमहरूमा सुमित्रा मुडभरी (ब्युटिपार्लर), दधिराम पौडेल (विद्युत् जडान), पुष्पा विश्वकर्मा (बुटिक), र सीता मगर (ढाका कपडा बुनाइ) प्रशिक्षकको रूपमा रहे।
समापन कार्यक्रम हेटौंडा गार्मेन्ट उद्यमी समूहकी अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजक संस्थाहरूले तालिममार्फत युवालाई स्वरोज़गारमुखी बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्।































