हेटौंडामा २५ मिटर सडक विस्तारको आवश्यकता : उपप्रमुख बानियाँ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक मेयर राजेश बानियाँले हेटौंडा बजारको दिगो व्यवस्थापनका लागि कम्तीमा २५ मिटर सडक विस्तार अत्यावश्यक रहेको बताउनुभएको छ।

शनिबार मकवानपुर फर्निचर व्यवसायी संघको १९औं साधारणसभा तथा अधिवेशनमा बोल्दै उपप्रमुख बानियाँले बजारको अव्यवस्थित विस्तार र दिनप्रतिदिन कुरुप बन्दै गएको अवस्थालाई रोक्न सडक चौडाइको आवश्यकता औंल्याउनुभयो।

“सडक विस्तार विकासको अपरिहार्य प्रक्रिया हो। यसलाई लिएर राजनीति गर्नुहुन्न,” बानियाँले भन्नुभयो, “व्यवसायीहरू विस्थापित हुन नपरोस् भन्ने सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध छ।”

उहाँले सडक विस्तारका क्रममा घरधनी, व्यवसायी, राजनीतिक दल लगायत सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, हेटौंडाबाट व्यवसायीहरू पलायन नहोस् भनेर निरन्तर रुपमा आवश्यक पहल गरिने समेत बताउनुभयो।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठले काठको सहज उपलब्धता सुनिश्चित गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभयो। उहाँले काठ सिधै निर्यात गर्न मिल्ने गरी वन ऐन संशोधनको तयारीप्रति असन्तुष्टि जनाउँदै, त्यसले आन्तरिक उद्योगलाई जोखिममा पार्ने चेतावनी दिनुभयो।

“दक्ष जनशक्ति, प्रविधि र बजारको अभाव हामी व्यवसायीहरूको मुख्य चुनौती हो,” उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायन भइरहेका छन्, अब व्यवसाय चलाउनै कठिन हुँदै गएको छ।”

संघका अध्यक्ष कृष्णप्रसाद अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेपाल फर्निचर महासंघका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने, बागमती प्रदेश अध्यक्ष शुभेन्द्र जोशी, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरि तिमल्सिना, तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्ण हुमागाईं लगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.