हेटौँडा — बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस २०८२ विशेष समारोहका साथ मनाएको छ। नेपाल भाषा (नेवाः) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजमा प्रयोग गर्न थालिएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाइन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवाः दबूको सहकार्यमा हेटौंडा–४ हुप्राचौरबाट प्रभातफेरी निकाल्दै कार्यक्रम सुरु गरिएको थियो। विविध सांस्कृतिक झाँकीसहितको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री बहादुर सिंह लामाले भाषामा सबै समुदायको अपनत्व हुनु आवश्यक रहेको बताए। उनले भाषिक विविधताका कारण उत्पन्न हुने द्विविधा हटाउन प्रदेश सरकारले महत्वपूर्ण कदम चालेको दाबी गर्दै संविधानले दिएको अधिकार अनुरूप नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा ल्याइएको स्पष्ट पारे। सरकारी कामकाजमा भाषा प्रयोग सम्बन्धी ऐनको नियमावली निर्माण प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए।
त्यस्तै, संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने पहिलो प्रदेश बागमती भएकोमा गर्व व्यक्त गरे। उनले प्रदेशमा प्रयोग हुने सम्पूर्ण भाषाको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि मन्त्रालय सक्रिय रूपमा कार्यरत रहेको बताए। मन्त्री ठकुरीले प्रदेश सभामा दुवै भाषाका अनुवादक नियुक्त भइसकेको, साथै त्रैमासिक रूपमा तामाङ र नेपाल भाषामा बुलेटिन प्रकाशन तथा प्रसारण भइरहेको जानकारी गराए।
कार्यक्रममा भाषा संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। साथै तामाङ र नेवार समुदायका सांस्कृतिक झाँकी, परम्परागत बाजा र नृत्य प्रस्तुतीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।
प्रदेश सरकारको निर्णयअनुसार दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा समेत दिइएको थियो।