“राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन बाँकी छ”-पूर्वराष्ट्रपति भण्डारी

हेटौंडा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक परिवर्तन ऐतिहासिक भए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताउनु भएको छ।

शनिबार हेटौँडामा आयोजित मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथो वार्षिक साधारणसभामा बोल्दै पूर्वराष्ट्रपतिले सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार अझै पूरा हुन नसकेको धारणा राख्नु भयो।

उहाँले जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार– “राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ” – सबै राजनीतिक दलले आत्मसात् गर्नुपर्ने बताउनुभयो। भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ नेपाली समाजको मौलिकता झल्काउने राजनीतिक सिद्धान्त भएको उल्लेख गर्दै उहाँले जबजले समाजवादको दिशामा देशलाई अघि बढाएको बताउनुभयो।

भण्डारीका अनुसार २०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचना नै नेपालको राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जग भएको थियो। उहाँले वर्गीय विविधता रहेको समाजमा जनताको सेवामा समर्पित राजनीतिक दलहरूले मात्र शासनमा पुग्न सक्ने धारणा राख्नुभयो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले उहाँकै नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

त्यस्तै, ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२’ बाट हेटौंडा–८ कमानेकी शुभद्रा रेग्मीलाई सम्मान गरिएको छ। पञ्चायती निरङ्कुशता विरुद्धको लडाइँमा सक्रिय सहभागिता जनाउँदै सेल्टरदाताको भूमिकामा योगदान दिएका कारण फाउण्डेशनले रेग्मीलाई सम्मान गरेको हो।

कार्यक्रममा फाउण्डेशनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्यहरू रामेश्वर राना, केदार न्यौपाने, तथा बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.