मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा आजदेखि लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान शुरु गरेको छ । कुनै ठोस उपचार नभएको लम्पी स्किन रोग न्युनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा शुक्रबारदेखि साउन ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा यो अभियान सञ्चालन गरिएको हो ।
यसवर्ष ७६ हजार २ सय ७५ वटा पशुमा भ्याक्सिन लगाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । गाईंभैसीमा यस रोग पश्चात उच्च ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा र्गिखाहरु देखिने, जोर्नी र खुट्टाहरु सुन्निने र हिँड्न गार्हो हुने, थुनेलो देखिने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने लगाएतका लक्षणहरु देखापर्ने हुन्छन् ।
अघिल्लो आर्थिक वर्षमा खोप अभियान मार्फत ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो भने मकवानपुरमा ३१ हजार ६ सय ६ वटा पशुमा खोप लागाइएको थियो । यस रोगका कारण गतवर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको छ ।
वि.सं. २०७७ साल असारमा प्रथम पटक नेपालमा यो रोग प्रमाणित भएको र हालसम्म ७७ वटै जिल्लामा देखापरिसकेको छ । नेपालमा यस रोगले गर्दा ७५ अर्ब ४८ करोड सम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले यस रोगको नियन्त्रणबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै पूर्व तयारीका रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको बताएका छन्। किसानहरुको समस्या यस अभियान मार्फत केहि हदसम्म निराकरण हुने कुरामा बागमती प्रदेश सरकार विश्वस्त रहेको उनले बताए ।
‘बागमती प्रदेश सरकारले किसानहरुको आर्थिक सम्वृद्धिका लागि यस्ता खाले आयोजनालाई निरन्तरता दिने कुरामा हामी प्रतिबद्ध छौ’ उनले भने ।