एमाले त्यागेर कान्छालाल वाइबा नेकपामा प्रवेश

बकैया । मकवानपुरको बकैया गाउँपालिका–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर–१ केन्द्रित चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय रहँदै आएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। आयोजकका अनुसार सोही दिन गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै नेकपाका उम्मेदवार विजय गौतमले मकवानपुरको पूर्वी क्षेत्रमा अव्यवस्थित बसोबास तथा लालपुर्जासम्बन्धी समस्या जटिल रूपमा रहेको बताए। भूमिहीन दलित तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि लालपुर्जा वितरण प्रक्रिया अघि बढे पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उनको भनाइ थियो।

उनले जग्गा स्वामित्वसम्बन्धी विषयमा नीतिगत र कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायमार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निर्वाचन अभियानलाई स्थानीय मुद्दा र जनजीविकासँग जोडेर अघि बढाइने बताए।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले मन्तव्य राख्दै चुनावी अभियानलाई वडा–वडासम्म सशक्त रूपमा विस्तार गर्ने बताएका थिए। भेलाको अध्यक्षता वडा कमिटी अध्यक्ष अञ्जन थिङले गरेका थिए भने स्वागत मन्तव्य वडा अध्यक्ष आशिष तितुङले राखेका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी कार्यकर्तालाई अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आह्वान गरिएको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.