हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताको अपेक्षा र जिम्मेवारीलाई केन्द्रमा राखेर राजनीति गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका–११ मा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले इमानदार नेतृत्व बिना मुलुकको रूपान्तरण सम्भव नहुने धारणा राखे।
विष्टले वर्तमान एमाले–कांग्रेस नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै त्यसकै प्रतिक्रियास्वरूप देशभर ‘जेन–जि’ पुस्ताको असन्तुष्टि र विद्रोही भावना बढ्दै गएको दाबी गरे। उनले भने, “युवा पुस्ताको चाहना र आवाजलाई बुझ्ने राजनीतिक शक्ति आज नेकपा मात्र हो,” भन्दै समृद्ध नेपालको नेतृत्व पनि नेकपाबाटै हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले राजनीतिक परिवर्तनको इतिहास कम्युनिस्ट आन्दोलनसँग जोडिएको उल्लेख गरे। “व्यवस्था परिवर्तन गर्यौँ, अब जनताको जीवनस्तर परिवर्तन गर्ने जिम्मा पनि हामीले नै लिन्छौँ,” भन्दै उनले नेकपालाई निर्णायक जनमत दिन आग्रह गरे।
नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कुमारी मोक्तानले देशभर पार्टीप्रति उत्साहजनक माहोल बनेको बताइन्। उनले मकवानपुरमा नेकपा पहिलो शक्तिका रूपमा स्थापित हुने दाबी गर्दै संगठनात्मक आधार थप सुदृढ हुँदै गएको उल्लेख गरिन्।
यस्तै, केन्द्रीय सदस्य किशोर बर्तौलाले नीति र नेतृत्वबीचको स्पष्ट सम्बन्ध आवश्यक रहेको बताए। हेटौंडा–११ लाई “साँचो कम्युनिस्ट चेतनाको केन्द्र” बनाउने दिशामा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो।
शहीद स्मारक नजिकको थाहा भवनमा सम्पन्न कार्यक्रममा नेकपा नेता सागर बानियाँले स्थानीय मतदाताहरू चुनाव चिह्न ‘तारा’ प्रति आकर्षित देखिएको बताए। उनका अनुसार उम्मेदवार विष्टको जित सुनिश्चित गर्न स्थानीय बासिन्दा स्वस्फूर्त रूपमा चुनावी अभियानमा जुटिरहेका छन्।
वडा नम्बर ११ का पार्टी संयोजक रामकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरू ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमकै क्रममा प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय वडा स्तरीय प्रचार–प्रसार समिति गठन गरिएको छ। समितिका सह–संयोजकमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा र देवनारायण चौलागाई रहेका छन्।



































































