हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान समयमा नैतिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभएको छ ।
आइतबार हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा नैतिक शिक्षा अध्यापन हुने गरे पनि अहिले त्यस्तो अभ्यास नहुँदा समाज गलत दिशातर्फ गइरहेको धारणा व्यक्त गर्नुभयो । नैतिक शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउँदै उहाँले शिक्षकहरू नैतिकवान नभएसम्म विद्यार्थीमा नैतिकता विकास हुन नसक्ने जिकिर गर्नुभयो ।

जेनजी आन्दोलनको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले आन्दोलनका क्रममा शिक्षकहरू नै भाटभटेनीमा मादक पदार्थ चोर्न गएको देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजनीतिज्ञ र शिक्षकहरूप्रति वितृष्णा बढिरहेका बेला नैतिक शिक्षाको आवश्यकता झन् बलियो भएको उहाँको भनाइ थियो ।
राजनीतिक परिवर्तनमा भ्रमको खेती हुने भएकाले शिक्षक र अभिभावकले विद्यार्थीलाई सही मार्गमा सम्हाल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

मुख्यमन्त्री बानियाँले हालको शिक्षा प्रणालीले नयाँ पुस्ताको आवश्यकता पूरा गर्न नसकेको बताउँदै अबको पुस्ताले रोजेको र खोजेको विषयलाई समेट्ने शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली अन्त्य गर्नुपर्ने बताउँदै कृषिसँग जोडेर विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्ने उहाँको धारणा थियो । सिद्धार्थ माविले प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै एआईले फैलाउन सक्ने भ्रमबारे पनि विद्यार्थीलाई सचेत गराउनुपर्ने बताउनुभयो ।
गणतन्त्र गरिबको व्यवस्था भएकाले पैसाको अभावमा बागमती प्रदेशमा कोही पनि पढ्नबाट वञ्चित हुन नपर्ने उहाँले दाबी गर्नुभयो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा शैक्षिक प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वशिक्षक, पूर्वकर्मचारी तथा विशिष्ट स्थानमा पुगेका पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो भने पूर्वविद्यार्थीहरूले विद्यालयलाई आर्थिक सहयोगसमेत गरेका छन् ।
वडाध्यक्ष तथा मूल समारोह समिति संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, प्रदेशसभा सदस्यहरू, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।
वि.सं. २०७८ मा बागमती प्रदेश सरकारबाट ‘बिग स्कुल’ का रूपमा छनोट भएको यस विद्यालयमा हाल इमिस अभिलेखअनुसार २ हजार ३ सय ७१ विद्यार्थी अध्ययनरत छन् ।




































































