हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। पार्टीले मकवानपुर क्षेत्र नं. १ बाट वहालवाला जनप्रतिनिधि ३ जना सहित कुल १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट वहालवाला जनप्रतिनिधि २ जना सहित ८ जनाको नाम सिफारिस गरेको हो।
मकवानपुर क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र बीरबहादुर थिङको नाम सिफारिस गरिएको छ। साथै वहालवाला प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय समिति प्रमुख ललित घलानको नाम पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
त्यसैगरी मकवानपुर क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती र किशोर बर्तौलासहित वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान तथा राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम थिङको नाम सिफारिस गरिएको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार महालक्ष्मी डीना उपाध्यायलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह विजयी भएका थिए। त्यसैगरी क्षेत्र नं. २ मा पनि गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गर्दै एमालेका उम्मेदवार महेश बर्तौला निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित भएको मकवानपुरमा यसपटकको निर्वाचन प्रतिस्पर्धा झनै रोचक हुने देखिएको छ।
यसैबीच, पार्टीले समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्यांग्तान, कृष्ण चेपांग, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाई, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरेको नाम विभिन्न क्लस्टर अन्तर्गत सिफारिस गरेको छ।
त्यसैगरी, आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिलबहादुर स्याङ्बोको नाम पनि पार्टीले सिफारिस गरेको छ।





























