हेटौंडा / हेटौंडामा सुनुवार सेवा समाजले उधौली पर्व मनाएका छन् । सुनुवार सेवा समाज मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
राई , लिम्बु , सुनुवार , याक्खा जातिले विशेष रुपमा यो उधौली पर्व मनाउने गरेको पाइन्छ । यो पर्वलाइ सुनुवारले ( एलेथोचे ), राइ र याक्खाले ( यल्दङ् ) , लिम्बूले ( चासोक ) नामले नामाकरण गरेका छन् । मकवानपुरका सुनुवार समुदायले हेटौंडा वडानम्बर १ भैरव डाडाको मैदानमा श्यादर ग्योर ( चण्डी थान ) स्थापना गरि सामुहिक पुजा आराधना गरेका छन् । जसलाइ सुनुवार भाषामा आदरपिदार भनिन्छ ।

आदरपिदार ( न्हासो ) पुजारी , पोइब ( धामी ) द्वारा गरिन्छ । सुनुवार सेवा समाज मकवानपुरका सचिव रामबहादुर सुनुवारका अनुसार यो बेलामा अन्नबालीमा किरा लागेर नष्ट नहोस् , सबैको भलो होस् , मृत आत्मालाई प्रेतात्मा बाट अलग गरेर कुलपित्री सग मिलोस भनेर कामना गरिन्छ । सुनुवार सेवा समाज मकवानपुरको आयोजनामा हेटौंडामा मनाएको उधौली पर्व यश जिल्लाको लागि पहिलो भएको सेवा समाजका जिल्ला कोषाध्यक्ष नारायण सुनुवारले बताए ।

सुनुवार सेवा समाज मकवानपुरका अध्यक्ष अर्जुनबहादुर सुनुवारको सभाध्यक्षतामा भएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागीता रहेको थियो । अल्पसंख्यक सुनुवार जाति मकवानपुर जिल्लाभर ८६ घरधुरी रहेको जनाइएको छ ।
































