हेटौंडा । हेटौंडा–९ कर्रामा लायन्स क्लब अफ हेटौंडाले निर्माण गर्दै गरेको अस्पताललाई विश्वभरका लायन्स क्लबहरुले अपनत्व लिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्।
शुक्रबार हेटौंडामा आयोजित डिजी क्लब भिजिट कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ एसका डिष्ट्रिक्ट डाइरेक्टर बिनय बस्नेतले हेटौंडा क्लबले ४८ वर्षपछि उदाहरणीय कार्य सुरु गरेको भन्दै यसलाई सबै लायन्स क्लबहरुले आफ्नो जिम्मेवारी ठान्नुपर्ने धारणा राखे। प्रमुख अतिथि समेत रहेका बस्नेतले अस्पताललाई सञ्चालनमा ल्याउन हातेमालो आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट उपकरणका लागि अनुदान ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा पिडिजी राजकुमार सिन्धीले आफ्नो कार्यकालमा सुरु गरेको वेलफेयर सेन्टर अहिले मूर्त रुप लिन थालेकोमा खुशी व्यक्त गर्दै परिकल्पनाकार सुदर्शन अधिकारीको योगदानको कदर गरे। उनले अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे।
त्यस्तै, पूर्व डिष्ट्रिक्ट गर्भनर शम्भु नकर्मीले हेटौंडामा रहेका लायन्स क्लबहरुलाई अस्पतालको निर्माण र सञ्चालनमा सहकार्य गर्न आग्रह गरे। निर्वतमान गर्भनर तासीडोल्मा तुम्बाहाम्फेले आफ्नो कार्यकालमा अस्पताल प्रस्ताव अन्तर्राष्ट्रिय स्तरमा पठाए पनि प्राविधिक कारणले पास नभएको जनाउँदै आगामी वर्ष पुनः अनुदानका लागि प्रस्ताव पेश गर्न सुझाव दिइन्।
लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष रामकृष्ण चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष बिके महर्जनले क्लबको इतिहास, पुनर्नवा अस्पतालको निर्माण योजना, सञ्चालन विधि र आगामी योजनाबारे प्रस्तुति दिएका थिए।



































































