हेटौँडा । नेपाली भाषाशिक्षक समिति मकवानपुरका आजीवन विशिष्ट सदस्य तथा सल्लाहकार ध्रुवकुमार भुजेलले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको राम–सावित्री सम्मान शनिबार मकवानपुरका विद्यार्थी र शिक्षकलाई प्रदान गरिएको छ ।
नेपाली भाषाशिक्षक समिति मकवानपुरले आयोजना गरेको शिक्षक विद्यार्थी सम्मान कार्यक्रमा सो सम्मान प्रदान गरिएको हो । शैक्षिक सत्र २०८१ सालको एसइई परीक्षामा नेपाली विषयमा ४ जिपिए ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो । समितिले ७३ जना विद्यार्थी र २८ जना शिक्षकलाई सम्मान गरेको छ । सामुदायिक विद्यलयबाट ३३ जना विद्यार्थी र १७ शिक्षक तथा संस्थागतबाट ४० जना विद्यार्थी र ११ जना शिक्षकलाई सम्मान गरिएको नेपाली भाषाशिक्षक समिति मकवानपुरका नवनिर्वाचित अध्यक्ष ज्योति न्यौपानेले बताउनुभयो ।
सो सम्मान नेपाली भाषाशिक्षक समितिले हरेक वर्ष प्रदान गर्दै आइरहेको छ । उपयोगी नेपाली व्याकरण तथा रचना पुस्तकका लेखक भुजेलले आधारभूत तह, माध्यमिक तह ९ र १० र मावि तहत कक्षा ११ र १२ का लागि छुटछुट्टै व्याकरण पुस्तक लेख्दै आउनुभएको छ । २७ वर्षसम्म सप्तरी जिल्लामा रहेर नेपाली विषयको अध्यापन गर्नुभएका भुजेलले केही वर्ष हेटौँडा ७ स्थित नवज्योति माविमा र मकवानपुर गढीको भानु माविमा पनि अध्यापन गर्नुभयो । भानु माविमा प्रधानाध्यापकको भूमिकामा रहनुभएको थियो ।
हाल सेवा निवृत्त जीवन बिताइरहनुभएका भुजेल नेपाली भाषाको खोज अध्ययन र लेखन कार्यमा व्यस्त हुनुहुन्छ । उहाँले समयसमयमा विभिन्न विद्यालयमा पुग्ने गर्नुहुन्छ । कार्यक्रममा बोल्दै उहाँले नेपाली भाषाको शिक्षण तथा अध्ययन र लेखनले आफूलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याएकोले नेपाली विषयमा राम्रो गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको बताउनुभयो । उहाँले आफूले यो कार्यलाई निरन्तरता दिइरहने बताउनुभयो । समितिका पूर्वअध्यक्ष रमेशमोहन अधिकारीले सुरुआत गर्नुभएको सम्मानलाई आफूले निरन्तरता दिएको भुजेलले बताउनुभयो ।
नेपाली भाषाशिक्षक समिति मकवानपुरका निवर्तमान अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकारहरू रमेशमोहन अधिकारी, ध्रुवकुमार भुजेल, विष्णुप्रसाद गौतम, माधवप्रसाद खतिवडा, सागरप्रसाद खतिवडा, सामाजिक विष शिक्षक समाजका अध्यक्ष भोगेन्द्र लुईटेल, गणित विषय शिक्षक समूहका अध्यक्ष धनिकलाल साहलगायतको उपस्थिति रहेको थियो । साथै भेलाले प्रगति माविका नेपाली विषय शिक्षक ज्योति न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।































