हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्माण गरिएको उक्त आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा गरे। सोही अवसरमा बजारको जिम्मेवारी उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको छ। भवनको बेसमेन्टमा सवारी पार्किङको व्यवस्था गरिएको छ भने भुइँ तल्लामा २० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुई वटा यात्रु लिफ्ट रहेका छन्। पहिलो तल्लामा पनि थप २० वटा सटर रहेका छन्।
रिटेल सपिङका लागि छुट्टै भवन निर्माण गरिएको छ, जसको भुइँ तल्लामा ११ वटा सटर, दुईवटा कार्गो लिफ्ट तथा पहिलो तल्लामा १२ वटा सटर छन्। साथै किसानहरूका लागि २३२ वर्गमिटर क्षेत्रफलमा टहरा बनाइएको छ।
उक्त परियोजनाअन्तर्गत ५०० मेट्रिक टन भण्डारण क्षमताको कोल्ड स्टोरेज पनि निर्माण गरिएको छ, जसले प्रदेशभित्र उत्पादन हुने कृषि उपजको दीर्घकालीन भण्डारण र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू, व्यापारी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
आधुनिक प्रविधियुक्त यो कृषि बजारले प्रदेशभरिका किसानहरूलाई उचित मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न सक्ने सुनिश्चितता प्रदान गर्ने र कृषि उपजको प्रभावकारी व्यवस्थापनमा टेवा पुर्याउने विश्वास लिइएको छ।































