कांग्रेसभित्रको शक्ति संघर्ष: बागमती प्रदेशको राजनीति निर्णायक मोडमा

हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष नयाँ मोडमा पुगेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले समर्थन फिर्ता लिएपछि राजनीतिक अवस्था झनै पेचिलो बनेको छ।

सांसद माया श्रेष्ठ र मीना पराजुलीले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूलाई जानकारी नदिई अविश्वास प्रस्तावमा हस्ताक्षर गराइएको आरोप लगाउँदै अब मुख्यमन्त्री लामालाई समर्थन रहेको स्पष्ट पारेका छन्। उनीहरूको भनाइ अनुसार, “हामीलाई जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा असहमति जनाउँदै अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको व्यहोरा अवगत गराउँछौँ।”

यसैबीच, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले अब लामाविरुद्धको समूहका नेता इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गर्दै पदबाट बाहिरिएको घोषणा गरेका हुन्। यद्यपि उनले २०७९ पुस १३ मा भएको दलको नेताको निर्वाचनमा लामालाई नै समर्थन गरेका थिए।

खड्कासँगै हालसम्म कांग्रेसका पाँचजना मन्त्रीले अविश्वास प्रस्ताव अगाडि आएपछि राजीनामा दिइसकेका छन्। तीमध्ये सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्।

विवाद चुलिँदै जाँदा मंगलबार बिहान १० बजे बोलाइएको कांग्रेस संसदीय दलको बैठक पनि निर्धारित समयमा सुरु हुन सकेन। यद्यपि अधिकांश सांसदहरू संसदीय दलको कार्यालयमा उपस्थित भए पनि नेताहरू आ–आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय देखिएका छन्।

हालको घटनाक्रमले बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक कलह निर्णायक मोडमा पुगेको संकेत दिएको छ। अविश्वास प्रस्तावको भविष्य र संसदीय दलको नेतृत्व को हातमा जाने भन्ने प्रश्नले अब चाँडै जवाफ पाउने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.