हेटौंडा । लागूऔषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा मकवानपुर प्रहरीले साउन २ र ३ गते विशेष अभियान चलाएर ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा तथा आसपासका विभिन्न स्थानमा छापा मार्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ र ५ का २०–२० वर्षीय दुई युवक, भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया युवती, मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीकी १९ वर्षीया युवती छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, हेटौंडा–१५ स्थित रातोमाटे चेकपोइन्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकलसहित पर्साको पोखरिया नगरपालिका वडा नं. १ बनकटवा घर भई हाल हेटौंडा बसोबास गर्दै आएका २७ वर्षीय युवक पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम ९१० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।
त्यसैगरी, सप्तरीका सम्भुनाथ नगरपालिका वडा नं. ६ र राजगढ गाउँपालिका वडा नं. २ का ३६–३६ वर्षीय दुई पुरुषलाई पनि हेटौंडा वडा नं. ९ र १० बाट पक्राउ गरिएको छ। उनीहरूको साथबाट क्रमशः १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेकामाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।






























