हेटौंडा । देशभरि देखिएको शिक्षक अभावलाई मध्यनजर गर्दै हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने भएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने तयारी गरिएको छ।
विद्यालयका प्राचार्य पुरन बहादुर जोशी र नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले संयुक्त रूपमा कार्यक्रमको घोषणा गर्दै दक्ष शिक्षक उत्पादन गर्ने दीर्घकालीन योजनासहित यो शैक्षिक पहल ल्याइएको जानकारी दिए। प्रारम्भमा कक्षा ११ का लागि नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्ययन गराउने र ३० जना विद्यार्थीलाई शिक्षाशास्त्रमा भर्ना लिने योजना बनाइएको छ।
पूर्ण छात्रवृत्तिसहित सञ्चालन हुने यो कार्यक्रममा विद्यार्थीलाई मासिक रूपमा १ हजार रुपैयाँ पाकेट खर्चसमेत प्रदान गरिनेछ। पठनपाठनसँगै व्यक्तित्व तथा नेतृत्व विकासका कार्यक्रम, कक्षा अवलोकन, विद्यालय भ्रमण, प्रयोगात्मक अभ्यास कक्षा र प्रेरणात्मक तालिमसमेत समावेश गरिएको छ। प्रशिक्षार्थी विद्यार्थीलाई हप्तामा दुई–तीन दिन सम्बन्धित विषयमा अध्यापन गराउने सीप विकास गर्ने तालिम दिइनेछ।
विद्यालयले दैनिक चार घण्टा कक्षा सञ्चालन गरी विद्यार्थीलाई दुई विषय अध्यापन गराउनेछ। प्रत्येक शुक्रबार पुस्तक परिचर्चा, शिक्षा संवाद, प्रस्तुतीकरणजस्ता शैक्षिक गतिविधि गराई भाषा सीप, आलोचनात्मक सोच र शिक्षणमा रुचि विकास गराउने लक्ष्य लिइएको छ। साथै हप्तामा दुई दिन विद्यार्थीलाई तीन समूहमा बाँडी उनीहरूलाई आधारभूत शैक्षिक सीप र विषयवस्तुको प्रशिक्षण दिनेछ, जसमा खानाको निःशुल्क व्यवस्था पनि रहनेछ।
नवोदय इनोभेसन सेन्टरले प्रशिक्षार्थी विद्यार्थीलाई ‘Teaching Boot Camp’, कार्यशाला, विशेषज्ञद्वारा प्रशिक्षण, ‘Portfolio Development’, ‘Exhibition’ तथा ‘Formative Assessment’ मा आधारित अभ्यास गराउनेछ। खनालका अनुसार, विद्यार्थीले आफैं सिकेको कुरा विभिन्न विद्यालयमा प्रदर्शन गर्न, कक्षा शिक्षण गर्न र विद्यालयको शैक्षिक संरचना अवलोकन गर्न पाउनेछन्।
विद्यालयले दुई वर्षे प्लस टु कार्यक्रमपछि स्नातक तहमा पनि शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने तयारी गरिरहेको छ। अध्ययनपछि रोजगारी सुनिश्चित गरिने दाबी गर्दै विद्यालयले योग्य शिक्षक तयार पार्ने आफ्नो अभियानलाई दीर्घकालीन रुपमा अघि बढाउने बताएको छ।
कक्षा ११ को पढाइ आगामी साउन ११ गतेदेखि सुरु हुने विद्यालयले जनाएको छ।































