हेटौँडा । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको घटनाले अखिल नेपाल महिला संघ (समाजवादी) स्तब्ध भएको जनाएको छ। घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।
गत असार २८ गते राति भएको उक्त घटनामा आउजीलाई सर्पले टोकेपछि उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण नेपालमा महिनावारी हुँदा कोही महिलाहरू स्वतःस्पुर्त, कोही परिवार र समुदायको दबाबमा परी अझै पनि छाउगोठ बस्न बाध्य छन्।”
महिलाको समानताको हक संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको र छाउपडी प्रथालाई सर्वोच्च अदालतले २०६२ मै गैरकानुनी घोषणा गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “मुलुकी अपराध संहिता २०७४ ले पनि छाउपडीलाई अमानवीय र दण्डनीय कार्यको रूपमा परिभाषित गरेको छ। यति स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै यस्ता घटना दोहोरिनु राज्यद्वारा सञ्चालित कार्यक्रम प्रभावकारी नभएको प्रमाण हो।”
छाउपडीलाई महिला विरुद्धको गम्भीर हिंसाको रूपमा लिँदै विज्ञप्तिमा छाउपडी अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। साथै छाउपडी लगायतका हानिकारक परम्पराविरुद्ध जनचेतना, शिक्षा र सामाजिक अभियान तत्काल सञ्चालन गर्न संघले सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
संघकी अध्यक्ष मुनु सिग्देलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक परम्पराको नाममा स्वीकारिएको यस्तो संरचनात्मक विभेदलाई कुनै हालतमा निरन्तरता दिन सकिँदैन।”































