भानु जयन्तीमा प्रदेश प्रमुख देवकोटाबाट साहित्यिक चेतनाको नयाँ युगको कामना

मकवानपुर । २१२ औँ भानु जयन्तीको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवपूर्ण योगदानका प्रतीक आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपालीमा साहित्यिक चेतना र एकताको भावना प्रगाढ बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

विसं १८७१ असार २९ गते तनहुँको चुंदी रम्घामा जन्मिनु भएका भानुभक्त आचार्यले वाल्मिकी कृत रामायणको नेपाली अनुवादमार्फत नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गर्दै जनजिब्रोमा मिसाउने ऐतिहासिक योगदान पुर्‍याएको प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुन्जायमान हुन्थे। प्रायः सबैका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र आज पनि छ।”
भानुभक्तको अनुवादले नेपाली भाषासँगै सांस्कृतिक चेतना पनि उजागर गरेको स्मरण गर्दै उहाँले भानुभक्तले देखाएको मार्गबाट आफ्नो पहिचानको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा पाइने बताउनुभयो।

प्रदेश प्रमुख देवकोटाले भानुभक्त र घाँसीको प्रेरक प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “जीवनमा लोककल्याणकारी मार्ग अपनाउने गहन सन्देश यसमा निहित छ।”
उहाँले नयाँ पुस्तामा साहित्यिक चेतना भरिँदै सिर्जनशीलताको नयाँ युग सुरुवात होस् भन्ने कामना पनि गर्नुभयो।

सन्देशको अन्त्यमा उहाँले भनेका छन्, “भानुभक्तले देखाएको मार्गमा हामी सबै अघि बढ्न सकौं, नेपाली भाषा र साहित्यलाई माया र सम्मान गर्न सकौं, अनि अन्तर्राष्ट्रिय जगतमा अझ उजागर गर्न सकौं भन्ने आशा व्यक्त गर्दछु।”

प्रदेश प्रमुख देवकोटाले साहित्यिक महानायक भानुभक्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सबै नेपालीलाई भाषा, साहित्य र संस्कृतिप्रति गर्व गर्न पनि आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.