हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो पटक अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालक तथा सहचालकलाई नगद सहित सम्मान गरेको छ। मन्त्रालयले बुधबार हेटौंडामा आयोजना गरेको “उत्कृष्ट चालक तथा सहचालक सम्मान कार्यक्रम” मा १५ जना चालक र सहचालकलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा चालक यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा रहेका छन्। यस्तै तीन जना महिला चालक जानुका गौतम, नवीना खड्का र सरिता गौतम समेत सम्मानित भएका छन्।
उनीहरुलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। नारायणी यातायात व्यवसायी संघले अनुशासित चालक र सहचालकको नाम सिफारिस गरेको र त्यसलाई मन्त्रालयले समीक्षापछि टुंगो लगाएर सम्मान गरेको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताए।
कार्यक्रममा मन्त्री महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सम्मानितहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।
मन्त्री महर्जनले अनुशासित र मितव्ययी ढंगले सवारी सञ्चालन गर्ने चालकहरुलाई प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको बताए। “चालकहरुलाई हौसला प्रदान गर्न र यातायात क्षेत्रलाई थप मर्यादित बनाउन आगामी आर्थिक वर्षका लागि पनि यस कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट विनियोजन गरिएको छ,” मन्त्री महर्जनले भने।
कार्यक्रमले चालक र सहचालकबीच थप जिम्मेवार र सचेत सवारी सञ्चालनमा प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।



































































