मकवानपुर । गोलनेपाल डटकमसँग आबद्ध रही मकवानपुरबाट खेलकुद पत्रकारिता गर्दै आएका बिक्रम बानियाँले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस पटक पत्रकार बानियाँलाई सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले हस्तान्तरण गरे।
खेलकुद मन्त्रालय अन्तर्गतको पुरस्कार मूल्यांकन समितिले मुल्यांकन गरी यस वर्ष देशभरिका दश जना खेलकुद पत्रकारहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही सूचीमा बागमती प्रदेशबाट बिक्रम बानियाँ पनि चयन भएका हुन्।
बानियाँ विशेष गरी फुटबल प्रतियोगिताहरूको लाइभ रिपोर्टिङमा परिचित छन्। पछिल्लो एक दशकदेखि उनी गोलनेपालको सह–सम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रुपमा खेलकुद पत्रकारितामा सक्रिय छन्।
खेलकुदको रिपोर्टिङकै क्रममा देशका विभिन्न जिल्ला भ्रमण गरेका बानियाँले अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्षेत्र विस्तार गरेका छन्। उनी सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न फिफा क्लब विश्वकपमा गोलनेपालको प्रतिनिधिका रूपमा सहभागी भएका थिए।






























