हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रतिपक्षी दलहरुले गम्भीर आपत्ति जनाएका छन्। सोमबारको प्रदेशसभा बैठक स्थगित भएपछि प्रदेशसभा सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले सरकारको कडा आलोचना गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले बजेटको विषयमा मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा सत्तारूढ घटक दलहरुबीच गहिरो असमझदारी देखिएको बताएका छन्। असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु गर्ने दलहरुबीच सहमति भएपनि सत्तापक्षकै कारण अहिलेसम्म छलफल सुरु हुन नसकेको उनको आरोप छ।
ढकालले सरकार दलहरूसँग कुनै समझदारी, परामर्श वा पूर्वजानकारी बिना बैठक सार्ने काम गरिरहेको भन्दै यसको कडा विरोध जनाए। उनले बजेटमा नीतिगत त्रुटि, असन्तुलन, विभेदकारी वितरण र ‘सेटिङ’मा आधारित कार्यक्रम रहेको दाबी गर्दै यस्तो बजेट सच्याएर मात्र समस्या समाधान सम्भव हुने बताए।
प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउनुभन्दा दलहरूसँग संवाद गरेर आवश्यक निकास खोज्न उनले सरकारसँग आग्रह गरे। संयुक्त पत्रकार सम्मेलनमा प्रतिपक्षी दलहरुले प्रदेशसभालाई यथाशीघ्र सञ्चालनमा ल्याई बजेटमाथिको छलफल अघि बढाउन माग समेत गरेका छन्।
























