हेटौंडा । लागुऔँषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा बिहीबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जिल्लास्तरीय लागुऔषध नियन्त्रण समन्वय समिति, मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो।
स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागुऔषध दुरुपयोग विरुद्ध एकजुटता भन्ने नाराका साथ आयोजित प्रभातफेरीमा सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले लागुऔषधको दुरुपयोगविरुद्ध सचेतना जगाउने उद्देश्यले विभिन्न नाराबोर्ड र प्लेकार्ड बोकेका थिए। उनीहरूले हेटौँडा शहरको विभिन्न भागमा ¥याली गर्दै सचेतना सन्देश सम्प्रेषण गरेका थिए।

यो दिवस हरेक वर्ष जुन २६ तारिखमा विश्वव्यापी रूपमा मनाइन्छ, जसको उद्देश्य लागुऔषधको दुरुपयोग र यसको अवैध कारोबार विरुद्ध जनचेतना फैलाउनु हो।






























