हेटौंडा । नेपाल स्पोर्ट क्लबको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा असार ७ गतेदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड क्लबले जितेको छ।
बुधबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कब्जा गरेको हो। न्यु डायमन्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै प्रभावशाली जित हात पारेको हो।

उपाधिसँगै न्यु डायमन्ड क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भयो भने गण्डकी प्रदेशले चौथो स्थान हासिल गर्दै ५१ हजार रुपैयाँ पुरस्कार हात पार्यो।

प्रतियोगितामा व्यक्तिगत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ।
उदयमान खेलाडी: रिक्जना भोटे (गण्डकी प्रदेश)
उत्कृष्ट सर्भर: कोपिला राना (नेपाल पुलिस)
उत्कृष्ट लिब्रो: सलिना श्रेष्ठ (न्यु डायमन्ड)
उत्कृष्ट ब्लकर: गरिमा बोहोरा (एपीएफ)
उत्कृष्ट सेटर: प्रगति नाथ (न्यु डायमन्ड)
उत्कृष्ट स्पाइकर: निरुता ठगुन्ना (एपीएफ)
सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर): सुमित्रा रेग्मी (न्यु डायमन्ड)

प्रतियोगितामा देशभरका ६ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। खेलाडी तथा टिमहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो।


































































