हेटौंडा । “देशभरिका मिजारहरू एक हौं, प्रगति र सृजनाका लागि दृढ हौं” भन्ने मूल नारासहित मिजार समाज नेपाल मकवानपुरले जिल्ला अधिवेशनको औपचारिक तयारी थालेको छ। अधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन हेटौंडा–१, राप्तीरोडस्थित सृजना कला केन्द्रमा सम्पन्न भएको हो।
अधिवेशन तयारी समिति संयोजक बलराम मंग्रातीले पत्रकारहरूलाई जानकारी दिँदै मिजार जाति नेपालमा दलित समुदायअन्तर्गत पर्ने जाति भएको बताउँदै पछिल्लो जनगणना अनुसार देशभर ४ लाख ५२ हजार २२९ मिजार समुदाय रहेको तथ्य प्रस्तुत गरे। यो संख्या नेपाल कुल जनसंख्याको करिब १.५ प्रतिशत हो।
उनका अनुसार मकवानपुरमा मिजार समाजलाई संगठित गर्नुको उद्देश्य जातीय एकता सुदृढ गर्ने, संस्कार–संस्कृतिको संरक्षण, तथा रीतिरिवाज र बंशावली जस्ता मौलिक पक्षको पहिचानलाई उजागर गर्नु रहेको छ। साथै, मंग्रातीले मिजार समुदायको परम्परागत पेसा — जुत्ता बनाउने र निर्माण कार्य — लाई आधुनिक प्रविधिसँग जोड्दै युवापुस्तालाई सीपमूलक र आत्मनिर्भर बनाउने खाँचो औंल्याए।
पत्रकार सम्मेलनमा मिजार समाज मकवानपुरको जिल्ला अधिवेशन आगामी भदौ २१ गते हेटौंडामा आयोजना हुने जानकारी दिइयो। अधिवेशनको सफल आयोजनाका लागि बलराम मिजारको संयोजकत्वमा तथा सुरेश मिजारको सह–संयोजकत्वमा १५ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको पनि सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।
मिजार समाज नेपाल मकवानपुरले जातीय पहिचान, सांस्कृतिक संरक्षण र सामाजिक समानताका लागि यो अधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा लिने बताएको छ।


































































