हेटौंडामा दुई दिने ‘सीप महोत्सव २०८२’ हुने

हेटौंडा । सीप विकास, दक्षता अभिवृद्धि र स्वदेशमै रोजगारीको सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित हेटौंडामा दुई दिने ‘सीप महोत्सव २०८२’ आयोजना हुने भएको छ। बागमती प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा असार १२ र १३ गते महोत्सव सम्पन्न हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

महोत्सवबारे जानकारी दिँदै बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले दक्ष जनशक्ति उत्पादन, उत्पादन भएका जनशक्तिलाई रोजगारको अवसरसँग जोड्न र स्वदेशमै रोजगारी सम्भव छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए। महोत्सवले सीप, दक्षता र अनुभवको आदानप्रदान गर्दै प्राविधिक शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्यलाई मजबुत पार्ने विश्वास पोखरेलले व्यक्त गरे।

सीप महोत्सवमा बागमती प्रदेश स्तरीय सीप प्रतियोगिता, विद्यार्थी तथा युवाका लागि अभिमुखीकरण कार्यक्रम, विभिन्न विधामा सीप सिकाइ र प्रदर्शन, साथै उद्योग भ्रमण जस्ता कार्यक्रमहरू समावेश गरिने छन्। यस महोत्सवलाई निजी क्षेत्र, सरकार, प्राविधिक शिक्षालय र उद्योग क्षेत्रबीचको सहकार्यको प्रतीकको रूपमा लिइएको आयोजकले जनाएको छ।

महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन गरिरहेका शिक्षालयहरूमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन विषय पढाइ हुने ९ वटा शिक्षालयबाट प्रतिस्पर्धी सहभागी गराइनेछ। हरेक शिक्षालयबाट प्रथम र द्वितीय हुने प्रतियोगीलाई प्रशंसापत्र प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ।

पूर्व बाल विकास सहजकर्ता तालिम, इलेक्ट्रिकल विधामा लाइभ प्रशिक्षण र करिब एक हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि साइकोमेट्रिक परीक्षण महोत्सवका मुख्य आकर्षण हुनेछन्। आयोजकका अनुसार महोत्सवमा तीन हजारदेखि पाँच हजार जनासम्मले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.