हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी निर्णयको विरोधमा नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् माओवादी केन्द्र मकवानपुरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रिनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “सरकार उद्योग पुनः सञ्चालन गर्ने दिशामा लाग्नुको साटो, चलिरहेको उद्योगलाई निजीकरण गर्न सक्रिय छ, जुन कुराले राष्ट्रको हितभन्दा पनि दलाल पुँजीपतिहरूको स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ।”
गौतमले निजी सिमेन्ट उद्योगहरूले सिण्डिकेटको शैलीमा मूल्य वृद्धि गर्दा समेत सरकार मुकदर्शक बनेको आरोप लगाउँदै भने, “सरकारी उद्योग हुँदा पनि निजी क्षेत्रको दादागिरी झनै खुलेर देखिएको छ, जुन समाजवाद उन्मुख राज्य प्रणालीको मूल मर्मसँग असंगत छ।”
ज्ञापनपत्र बुझाउनु अघि माओवादी केन्द्रले मानसचोकबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥याली पनि निकालेको थियो।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा यथासिघ्र पठाउने प्रतिबद्धता जनाए।
संघीय सरकारले वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकमार्फत जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्ट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटलाई निजीकरण गर्ने निर्णय गरेको थियो।