गाडी फेला नपरेपछि भूगर्भविद् टोली स्थलगत अध्ययन सकेर फर्कियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडक खण्डमा गत शुक्रबार साँझ माटोसहित भासिएको गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागको टोली प्रारम्भिक अध्ययन सकेर फर्किएको छ। भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा गएको टोली बुधबार दिउँसो काठमाडौं फिर्ता भएको हो।

टोलीले मंगलबारदेखि घटनास्थलको जमिनको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। यद्यपि, गाडी भासिएको स्थान वरपरको जमिन समेत क्रमशः भासिन थालेपछि टोलीले थप जोखिम हुनसक्ने भन्दै अध्ययन स्थगित गरेको भूगर्भविद अधिकारीले जानकारी दिनुभयो।

अध्ययन स्थगित, ल्याब परीक्षणपछि दोस्रो चरणको तयारी

टोलीले संकलन गरेको माटोको नमुना र अन्य तथ्यहरू ल्याबमा परीक्षण गरेपछि मात्र दोस्रो चरणको अध्ययन अघि बढाउने तयारी गरिएको अधिकारीले बताए। प्रारम्भिक अध्ययनमा गाडी रहेको स्थान अनुमान गरिए पनि अझै पुष्टि हुन सकेको छैन।

“त्यो क्षेत्रमा जमिनको सतह तरल जस्तो बनेको छ, यस्तो अवस्थामा भारी वस्तुहरू सजिलै भासिन्छन्,” अधिकारीको भनाइ छ। ड्रिलिङका क्रममा गाडी भएको आशंका गरिएको स्थानमा ६ मिटरभन्दा तल रड नजाँदा त्यहाँ केही रहेको संकेत भेटिएको थियो। म्याग्नेटो मिटरबाट पनि त्यही क्षेत्रलाई गाडीको सम्भावित अवस्थिति मानिएको छ।

जोखिम कायमै, नगरपालिकाको सावधानी अपिल

भूगर्भविद टोलीको सुझाव अनुसार हेटौँडा उपमहानगरपालिकाले घटनास्थल वरपरको ५० मिटर क्षेत्रलाई सिल गर्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरणका लागि सतर्कता अपनाउने जनाएको छ।

गत शुक्रबार साँझ ना४ च ४८३३ नम्बरको डिआई पिकअप गाडी कच्ची सडक हुँदै गइरहेको बेला अकस्मात् जमिन भासिँदा गाडी माटोमा पुरिएको थियो। तर, चालक र सहचालक समयमै बाहिर निस्कन सफल भएका थिए।

स्थानीय त्रासमा, घटना रहस्यको घेरामा

गाडी भासिएको ६ दिन वितिसक्दा पनि गाडी फेला नपर्नु र जमिन भासिने क्रम जारी रहनुले स्थानीयवासीहरू त्रसित बनेका छन्। भूगर्भविद्को प्रारम्भिक अध्ययनपछि पनि अझै यो घटना किन र कसरी भयो भन्ने स्पष्ट हुन सकेको छैन।

स्थानीय र भूगर्भविद्को चासोको केन्द्र बनेको यो रहस्यमय घटनाले थप वैज्ञानिक अनुसन्धानको आवश्यकता देखाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.