हेटौंडा । हेटाैंडा उपमहानगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुसँग विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।
महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा भएको उक्त ‘किशोरी संवाद’ कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सहभागी किशोरीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको उत्तर दिँदै भोलिका दिनमा उनीहरूले भोग्नुपर्ने सम्भावित समस्याप्रति सजग रहन सुझाव दिनुभयो। उहाँले किशोरी अवस्थालाई सुरक्षित र आत्मविश्वासी बनाउन आवश्यक उपायहरू अवलम्बन गर्न पनि प्रेरित गर्नुभयो।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको पनि उपस्थिति रहेको थियो।
किशोरीहरूको सवाल-जवाफ र खुला छलफलमार्फत उनीहरूको आवाज सुन्ने र भविष्यमा नीति निर्माणमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।