हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा निर्देशिका सार्वजनिक गर्नुभयो।
यो निर्देशिका प्रदेश सरकारको २०८० फागुन ८ गतेको मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भई २०८० चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको हो।
मुख्यमन्त्री लामाले सार्वजनिक कार्यक्रममा बोल्दै सबै तहले नीति निर्माण गर्दा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य सबै मन्त्रालयसँग जोडिएको विषय हो, त्यसैले सबै नीतिहरू स्वास्थ्यमैत्री हुन जरुरी छ।” उहाँले एकल मन्त्रालयबाट मात्र सुधार सम्भव नहुने भन्दै अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा मन्त्रालयकी सचिव सुमित्रा गौतमले निर्देशिकाको मुख्य बुँदाहरूको बारेमा प्रस्तुति दिँदै यसले स्वास्थ्य क्षेत्रमा विद्यमान असमानता हटाउन सहयोग पुग्ने बताउनुभयो। सचिव गौतमका अनुसार, यस निर्देशिकाले सरकार तथा नीति निर्माता व्यक्तिहरूलाई विभिन्न नीतिहरूले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावको मूल्याङ्कन गर्न सक्ने बनाउनेछ।
बागमती प्रदेश सरकारको पहिलो आवधिक योजनाले पनि सबै क्षेत्रका सार्वजनिक नीतिहरूमा स्वास्थ्यसम्बन्धी विषय समावेश गर्ने स्पष्ट उल्लेख गरेको छ।