हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकार सुरेश रजकको हत्या प्रकरण र पत्रकारितामाथि बढ्दो आक्रमणको सन्दर्भमा सम्पादक तथा प्रकाशकहरूसँग गम्भीर छलफल गरेको छ।
महासंघको केन्द्रीय निर्देशन अनुसार आयोजना गरिएको उक्त छलफल शुक्रबार हेटौंडामा सम्पन्न भएको हो। दोस्रो चरणको आन्दोलन अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले हालको आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।
छलफलका सहभागीहरूले बन्द कोठामा सीमित हुने कार्यक्रमबाट ठोस परिणाम ननिस्कने भन्दै आन्दोलनलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखे। सरकारमाथि दबाब बढाउन रणनीति पुनरावलोकन गर्नु आवश्यक रहेकोमा सबैको जोड थियो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिलेसम्मका आन्दोलन प्रभावशाली बन्न नसकेको टिप्पणी गर्दै आन्दोलनले अब ठोस दिशा लिनुपर्ने आवश्यकता औंल्याए। उनले गणतन्त्र स्थापनाको पक्षमा आवाज उठाएको महासंघमाथि अहिले राजावादीहरूको आक्रमण भइरहेको बताए।
प्रदेश उपाध्यक्ष हरि हुमागाईंले सुरेश रजक हत्या प्रकरणमा दोषीहरूलाई कारबाही गर्न सरकार उदासीन देखिएको आरोप लगाए।
स्वतन्त्र पत्रकार संघका उपमहासचिव तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले रजकको हत्या मात्र नभई हाल पत्रकारिता क्षेत्रमा देखिएका अन्य चुनौतीहरूबारे पनि गम्भीर बहस आवश्यक रहेको बताए।
महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले राज्यले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए। उनले पत्रकारितामा सन्तुलन र तथ्यमा आधारित रिपोर्टिङको महत्त्व उल्लेख गर्दै महासंघले सधैं पत्रकारको पक्षमा सक्रिय भूमिका खेलेको दाबी गरे।
छलफलमा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष गोविन्द न्यौपाने, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष शिव चौलागाईसहित विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूको उपस्थिति थियो।