मकवानपुर । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सुशासन कायम राख्न प्रहरी, प्रशासन र पत्रकार सबैको समान जिम्मेवारी रहेको बताएकी छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा उनले सभ्य समाज निर्माण केवल प्रशासन र सुरक्षाकर्मीको काम मात्र नभएर सबै पक्षको सहकार्य आवश्यक पर्ने उल्लेख गरिन्। समाजलाई सुरक्षित र सकारात्मक परिवर्तन गर्न समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
प्रजिअ श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा शान्ति सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्। साथै, समाजमा हुने आपराधिक क्रियाकलापप्रति प्रशासनले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारिन्।
पत्रकारिताको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै उनले सत्यतथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिन्। केही सञ्चार माध्यममा ‘नलेखिनुपर्ने ठाउँमा लेख्ने र लेखिनुपर्ने ठाउँमा नलेख्ने’ प्रवृत्ति देखिएको बताउँदै उनले प्रेस जगत्ले आफ्नो जिम्मेवारी जिम्मेवार तरिकाले निर्वाह गर्नुपर्ने धारणा राखिन्।

उनका अनुसार, पत्रकारिता जति सक्रिय हुन्छ, प्रशासन पनि त्यति नै गतिशील बन्छ। उनले पत्रकारहरूलाई सामाजिक उत्तरदायित्व वहन गर्दै पत्रकारिता गर्न आग्रह गर्दै, पत्रकारिताले कार्यपालिका, न्यायपालिका, र व्यवस्थापिकालाई सही मार्गदर्शन दिनुपर्ने बताइन्।
प्रजिअ श्रेष्ठले जनतालाई सुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै, भएका कमजोरीहरू सुधार गर्दै अझ व्यवस्थित रूपमा अघि बढ्ने प्रतिवद्धता जनाइन्। भेटघाट कार्यक्रममा सुरक्षा अवस्था, लागूऔषध दुर्व्यसन लगायतका विषयमा समेत छलफल भएको थियो।






























