मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु भएको छ । जिल्लामै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा भएको हो । शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पुर्ण सरसफाइ उन्मुख हुने टोलहरु विर्ता , अम्बोटे , बरेटार रहेको छ ।
कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानको सभाध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले विकट गाउँहरुमा खानेपानीको पहुँचबाट टाढा छन् नागरिकहरु । विकट भौगोलिक अवस्थाको कारण खानेपानी र सरसफाई सम्बन्धी काम गर्नु चुनौती छ , आरआर .एनसँगको सहकार्यमा टोलटोलमा कामहरु गर्न सहज भएको बताए ।
हरेक टोललाई पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । अध्यक्ष मुक्तानले भने , अब टोलबाट सुरु भएको अभियान वडा हुँदै पालिकासम्म पुग्ने र वडा घोषणा सँगै पालिका घोषणा गर्ने लक्ष्य हाम्रो छ । उनले भने , हामीले यस अघि मकवानपुरमै पहिलो पटक चेलि प्रोत्साहन कार्यक्रम सुरुवात गरेका थियौं , अहिले खानेपानी र सरसफाई सम्बन्धी अभियान सुरु गरेका छौं ।
नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर .आर .एन)सँगको सहकार्यमा गाउँपालिले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजना अन्तर्गत आर .आर . एनले गाउँ पालिकामा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँगको सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाकि सहायक महिला विकास निरीक्षक रमिला सापकोटाले जानकारी दिइन् ।
अध्यक्ष मुक्तानका अनुसार , अभियानको क्रममा घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको छ । उनका अनुसार घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने र्याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरीएको हुनुपर्ने छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल , आर .आर .एनका कार्यक्रम संयोजक लीलबहादुर कार्की लगायतले आफ्ना भनाई राखेका थिए