हेटौँडा १९ मा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित लेखपानीमा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको छ । हेटौंडामा केही समयअघि सञ्चालनमा आएको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा आवश्यक रहेको जानकारी प्राप्त भएपश्चात् उपलब्ध गराइएको संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए ।

केही समयअघि सञ्चारमाध्यममा समाचार आएपछि संस्थाकै सदस्यहरुमा थोरैथोरै रकम संकलन गरी विद्यार्थीका लागि कपडा हस्तान्तरण गरिएको अध्यक्ष महतले बताए । विद्यालयमा अध्ययनरत ४१ बालबालिकाका लागि न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको महतले बताए । संस्थाका अध्यक्ष महतको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गोलेको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा गोलेले विद्यार्थी संख्या थोरै रहेको बताउँदै बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसमेत गर्ने गरेको बताए । शिक्षकमात्र नभइ अभिभावकले पनि बालबालिकालाई शिक्षामा अगाडि बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा संस्था अध्यक्ष महतले थोरैथोरै पैसा जम्मा गरेर विद्यालयमा सहयोगको पहल गरेको बताए । बालमैत्री घोषणामा नगरले लाखौं बजेट खर्च गरिरहँदा यस्ता विद्यालयतर्फ नगरको ध्यान नगएको बताउदै बालमैत्री घोषणामा लगाउने बजेट यस्ता विद्यालयमा लगानी गर्न उनले आग्रह गरे ।

न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोले, संस्था उपाध्यक्ष रामविक्रम थापा, सचिव राजेश थापा, सदस्यहरु हरिबहादुर कुँवर, सुबोध सुबेदी, राजेश श्रेष्ठ, अभिभावक र शिक्षकलगायतको उपस्थिति थियो ।

वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्ष भने नभएको र कागजमा सीमित बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उनले बताएका छन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.