मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ स्थित हेभीमा सडकमा सवारीको चाप बढेपछि अहिले कुलेखानी ड्याम हुँदै काठमाडौँसम्म सवारी आवतजावत सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै कुलेखानी ड्याम हुँदै काठमाडौँ सवारी आवतजावत खुला गरिएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार अर्को सूचना नआएसम्म निजी तथा सार्वजनिक हलुका सवारी साधनहरुलाई कुलेखानी ड्याम हुँदै काठमाडौँतर्फ जाने व्यवस्था मिलाइएको हो ।
हाल हेटौँडा हुँदै काठमाडौँ जाने सवारीहरुको चाप भएता पनि हेभी तथा सिमखोला ईलाकामा सवारीहरु निक्कै समय जाममा पर्ने गरेका छन् । दशैँ अघिको बाढी र पहिरोले फाखेल र सिस्नेरी बाटो बिगारेपछि त्यस क्षेत्रमा सामान्य बाइपास बनाई सवारी सुचारु गरिएको थियो । तर कच्ची र साँघुरो बाटोका उकालोहरुमा सवारी साधनहरु उक्लन समस्या भएपछि त्यस क्षेत्रमा जाम बढी रहेको छ ।