हेटौँडा उपमहानगर र व्यवसायीबिच यस्तो भयो सहमति

मकवानपुर । हेटौंडा उपमहानगरपालिका कार्यालय र मकवानपुर उद्योग बाणिज्य संघबिच वृद्धि भएको कर रकम घटाउने सहमती भएको छ । शुक्रबार आन्दोलनरत व्यवसायी र उपमहानगरपालिकाबिच वार्ताबाट कर रकम घटाउनेसहितका ८ बुँदे सहमति गरिएको हो ।

नगर सभाको निर्णयबाट मात्र कर रकम घटाउन सकिने कानूनी व्यवस्था रहेको छ । तर, चालु आर्थिक वर्षको साउन १ गते देखि साउनको मसान्तसम्म अहिलेकै कानून अनुसार कर रकम बुझाउने नगरवासीहरुको हकमा के गरिन्छ भन्ने कुनै निर्णय भएको छैन । वार्ता सफल भएसँगै आन्दोलनरत व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

उपमहानगरले गरेको करवृद्धिविरुद्ध मउवा संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएसन तथा विभिन्न वस्तुगतसंघले आह्वान गरेको आन्दोलनमा उपमहानगरले वार्ताको लागि साउन ३० गते पत्राचार गरेको थियो । मागलाइ तत्काल सम्वोधन गर्ने लिखित प्रतिवद्धता माग गर्दै संघले पमहानगरसमक्ष सात बुँदामा प्रस्ताव गरेको थियो । सबै शीर्षकमा वृद्धि गरिएको कर सतप्रतिशत फिर्ता गरी पुरानै दर कायम गरिनु पर्ने, अवैज्ञानिक विज्ञापन कर खारेज गरिनु पर्ने, उपभो्क्ता समितिमार्फत हुने सबै प्रकारको विकास निर्माणको काम निर्माण व्यवसायीमार्फत गरिनु पर्ने माग गरिएको थियो ।

त्यस्तै, होटल व्यवसायलाई रातको १२ वजेसम्म सेवा संचालनको प्रत्याभूत गरिनु पर्ने तथा पुन वैज्ञानिक वर्गीकरण गरिनु पर्ने, निमार्ण व्यवसायीले विभिन्न समयमा काम गरी भुक्तान गरिसकिएको भ्याट रकम पुनः शीर्षक परिवर्तन गरी वक्यौत देखाइएको उपमहानगरको गल्ती तत्काल सच्याउनु पर्ने, घरबहाल कर वर्गिकरण गरी घरधनी स्वयमले भुक्तान गर्ने व्यवस्था मिलाउनु पर्ने माग आन्दोलनरत पक्षले राखेकोे थियो । शुक्रबार साँझ भएको सहमतिअनुसार मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाले उठाएका विषयमा आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता उपमहानगरले गरेको छ ।

कर रकम घटाउनका लागि उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँ, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालका बिचमा सहमती भइसकेको छ । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि वृद्धि गरेको राजश्वको दर खारेज गरी गत आर्थिक वर्षकै राजश्व दर कायम गर्न सहमत भएको छ । व्यवसायीको मागको सम्बोधन गर्न आवश्यक प्रस्ताव तयार गरी नगरसभामा पेश गर्न हेटौँडा उपमहानगर सहमत भएको छ । व्यवसायीको मागअनुसार विज्ञापन कर कार्यान्वयनका लागि मकवानपुर उद्योग वाणिज्य संघसहितको सहभागितामा अध्ययन समिति गठन गरी नगरपालिका समक्ष पेश गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.