भीमफेदी । सुरक्षा निकाय र स्थानीय समुदायबीच प्रत्यक्ष संवादमार्फत विश्वासको सम्बन्ध मजबुत बनाउने उद्देश्यले भीमफेदी गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा चैत्र १७ गते आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका डीएसपी, भीमफेदी कारागार प्रमुख, सशस्त्र प्रहरी बल (कारागार सुरक्षा) का प्रतिनिधि, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकलगायत स्थानीय वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो।
राजनीतिक दलका प्रतिनिधि, युवा, व्यवसायी, शिक्षक, किसान, महिला अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिताबीच सञ्चालन भएको कार्यक्रममा स्थानीय नागरिकहरूले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्रहरी सेवासम्बन्धी जिज्ञासा, सुझाव र गुनासाहरू खुलेर राखेका थिए।
प्रमुख अतिथि श्याम बहादुर क्षेत्रीले नागरिक र प्रहरीबीचको सहकार्यलाई समाजमा शान्ति स्थापनाको आधारको रूपमा व्याख्या गर्दै अपराध नियन्त्रणमा नागरिकको सूचना र सहयोग अनिवार्य हुने धारणा व्यक्त गर्नुभयो। साथै, ट्राफिक प्रहरीतर्फबाट बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक सन्देशहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमका अध्यक्ष सन्त श्रेष्ठले नागरिकबाट प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै प्रहरी सेवालाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो।



































































