जिल्लास्तरीय पुरुष भलिबलको उपाधि मंगलेश्वरलाई

हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ।

मंगलबार भएको फाइनल खेलमा थाहा नगरपालिका–२ को मंगलेश्वर युवा क्लबले हेटौँडा–११ स्थित छहारी युवा समाजलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले जितेको मंगलेश्वरले त्यसपछि २५–२० र २५–१६ को सहज जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो।

उपाधिसँगै मंगलेश्वर युवा क्लबले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छहारी युवा समाजले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा सीमित हुनुपरेको छ। सेमिफाइनलमा पराजित नव प्रतिभा साँस्कृतिक युवा क्लब बज्रबाराही र मनहरी गाउँपालिकाका टोलीले जनही १५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन्।

मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।

व्यक्तिगततर्फ मंगलेश्वरका कुशल लामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उत्कृष्ट डिफेन्डर विवेक कार्की, उत्कृष्ट सेटर उत्सव आले मगर (दुवै मंगलेश्वर), उत्कृष्ट स्पाइकर छहारीका पुजन गुरुङ, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक योगबहादुर लामा (छहारी) र उदाउँदो खेलाडी मनहरीका जोशन गौतम घोषित हुँदै जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

यसअघि सेमिफाइनलमा मंगलेश्वरले नव प्रतिभा साँस्कृतिक युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने छहारी युवा समाजले मनहरी गाउँपालिकालाई पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.