हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मकवानपुरमा मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण सुरु गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय मकवानपुर का अनुसार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेसँगै आइतबारदेखि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीलाई सामग्री बुझाउन थालिएको हो।
प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार निर्वाचन सञ्चालनका लागि आवश्यक ५२ प्रकारका सामग्री मतदान अधिकृतलाई उपलब्ध गराइएको छ। जिल्लाका १० वटै स्थानीय तहअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीलाई आज र भोलि सामग्री वितरण गरिनेछ। खटिएका कर्मचारी सोमबार नै मतदानस्थल पुगेर आवश्यक पूर्वतयारी थाल्नेछन्।
मकवानपुरमा दुई अस्थायी केन्द्रसहित कुल ३ सय ७६ मतदान केन्द्र रहेका छन्। निर्वाचन सम्पन्न गराउन ३ हजार ३ सय ६६ कर्मचारी खटाइने जनाइएको छ। ५ सयसम्म मतदाता रहेका मतदान केन्द्रमा ८ जना, ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी परिचालन गरिनेछ।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रशासन तथा निर्वाचन कार्यालयले तयारीलाई तीव्र बनाएको जनाएको छ।



































































