हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होली पर्वका अवसरमा अत्यावश्यक कामबाहेक अन्य सवारी साधन नचलाउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ।
होली तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै अपनाइएको व्यवस्थाबारे जानकारी दिँदै उहाँले सवारी चलाउनै परे ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी, होली खेल्नकै लागि सवारी साधन चलाउन रोक लगाइएको उहाँले स्पष्ट पार्नुभयो।
निर्वाचनको संघारमै होली परेकाले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भन्ने उद्देश्यले यस वर्ष कडाइ गरिएको अधिकारीले बताउनुभयो। विगतका वर्षझैँ सार्वजनिक रूपमा खुल्लमखुल्ला होली नखेल्न आग्रह गर्दै यसपटक घरको कम्पाउन्डभित्र सीमित रूपमा पर्व मनाउन अनुरोध गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सार्वजनिक स्थलमा होली कार्यक्रम गर्न रोक लगाइएको छ। प्रायोजक तथा कलाकारहरूलाई समेत कुनै प्रकारका सार्वजनिक होली कार्यक्रम नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो।
निर्वाचनको पूर्वतयारीस्वरूप फागुन १४ गतेदेखि नै मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। उक्त प्रतिबन्धको पालना गर्न र गराउन सबैसँग प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ र १५ गते सूचना जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित रूपमा होली पर्व मनाउन आह्वान गरेको थियो। प्रशासनले नागरिकको सहयोग रहेमा मात्रै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।



































































