हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा शैक्षिक मेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला शुक्रबारदेखि सुरु भएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र रोजगार सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मेलामा घरेलु, हस्तकला तथा कृषिजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री भइरहेको छ। मेलाको उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गरेका थिए।

प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू सहभागी गराइएको छ। आयोजकका अनुसार मेलाका लागि एक सय वटा स्टल राखिएको छ, जहाँ ढाका कपडा, गुन्द्रुक, अचार, घरेलु खाद्यवस्तु, हस्तकलाका सामग्री तथा कृषि उत्पादनहरू प्रदर्शन र बिक्रीमा राखिएका छन्।

मेलाभित्र शैक्षिक प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक कार्यक्रम र नृत्य प्रतियोगितासमेत समावेश गरिएको छ। स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि, उद्यमी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ। प्रदेशस्तरीय निकायहरूको सहभागिताले स्थानीय उत्पादनलाई थप पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाले स्थानीय उत्पादनसँग जोडिएर साना तथा घरेलु उद्योग विकास गर्ने लक्ष्यअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। मेलामार्फत स्थानीय उद्यमीलाई बजारसँग जोड्ने, उपभोक्तालाई स्वदेशी उत्पादनप्रति आकर्षित गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ।

मेला शनिबारसम्म सञ्चालन हुने वडा अध्यक्ष फुवा दोर्जे लामाले जानकारी दिनुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.