हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले राजनीतिक परिवर्तनपछि नागरिकले महसुस गर्ने अनुभूति र अपेक्षाबीच बढ्दो दूरी चिन्ताको विषय बनेको बताएका छन्।
शहिद दिवस २०८२ को अवसरमा शहिद स्मारक विकास समितिले हेटौंडा उपमहानगरपालिका–११ स्थित शहिद स्मारकमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले राजनीतिक अस्थिरता, आर्थिक दबाब, विश्व परिवेशको असर, बेरोजगारी, भ्रष्टाचार तथा युवा पलायनजस्ता कारणले नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे। उनले नेतृत्व तह देश निर्माणभन्दा सत्ता संघर्षमै अल्झिँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए।
प्रदेश प्रमुख देवकोटाले प्रतिनिधिसभा निर्वाचनको चरणमा प्रवेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताए। निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य निर्वाचनले मात्र लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने उनको भनाइ थियो। चुनावलाई सत्ता प्राप्तिको माध्यम मात्रै नभई जनतासँगको विश्वास परीक्षण र नवीकरणको अवसरका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए। आगामी निर्वाचनलाई विभाजन होइन, एकताको माध्यम बनाउनुपर्ने उनको धारणा थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको आवश्यकता समृद्ध राष्ट्र र नागरिक केन्द्रित विकास भएको बताए। उनले राष्ट्रिय झण्डाको अपमान गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने टिप्पणी गरे। विगतका राजनीतिक आन्दोलनहरू नेतृत्वसहित सम्पन्न भए पनि पछिल्लो समय नेतृत्वविहीन आन्दोलनले ठूलो क्षति पुर्याएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले युवा पुस्ताको नाममा अदृश्य शक्तिहरूले राष्ट्रविरुद्ध खेल खेलिरहेको भन्दै सबैलाई सजग रहन आग्रह गरे। उनले वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थाभन्दा उत्तम विकल्प नेपालका लागि नरहेको दाबी गर्दै यसको संरक्षण र सुदृढीकरण आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शहिदहरूले देखाएको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने दायित्व सम्पूर्ण नागरिकको भएको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थाको संरक्षण गर्न नसके शहिद दिवस मनाउनुको अर्थ नरहने बताए। उनले युवा पुस्तालाई गलत दिशातर्फ धकेल्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रमकै अवसरमा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८२ बालकुमारी थापा स्मृति केन्द्रलाई प्रदान गरिएको थियो। केन्द्रकी अध्यक्ष जुनेली माया श्रेष्ठलाई प्रदेश प्रमुख देवकोटाले नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। शहिद स्मारक परिसरमा निर्मित शहिदको प्रतिमामा प्रदेश प्रमुख, मुख्यमन्त्री, उपसभामुख तथा मन्त्रीहरूले माल्यार्पण गरेका थिए।
शहिद दिवसको अवसरमा शहिद स्मारक विकास समितिले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

































































